काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्षमा १३ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्दै संस्थागत रूपमा आफूलाई सुदृढ बनाएको छ। निगमले सो अवधिमा तीन खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेको जनाएको छ, जसबाट राज्यलाई १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व बुझाएको छ । जुन सरारको कुल राजस्व संकलनको १० प्रतिशतभन्दा धेरै हो ।
निगमको ५६औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले निगम अब घाटाबाट मुक्त भई नाफामा गएको जानकारी गराए। उनका अनुसार स्वचालित मूल्य प्रणाली लागू हुनु, व्यवस्थापन सुधार र पूर्वाधार विस्तारले निगमको वित्तीय अवस्थामा सुधार आएको हो।
उनले २०७१ सालमा सुरु गरिएको स्वचालित मूल्य प्रणालीलाई निगमको इतिहासकै सबैभन्दा निर्णायक सुधारको रुपमा ब्याख्या गर्दै भने, ‘यही प्रणालीका कारण आज निगम घाटाबाट नाफामा रुपान्तरण भएको छ र व्यावसायिक रुपमा आत्मनिर्भर बन्दै गएको छ ।’
पूर्वाधार र प्रविधिगत सुधार
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन, अमलेखगञ्जमा १७ हजार किलोलिटर क्षमताको भण्डारणगृह, पोखरास्थित हवाई इन्धन भण्डारण केन्द्र तथा डिपोहरुमा फ्लो मिटर र इआरपी प्रणाली जडान जस्ता प्रविधिको प्रयोगले ढुवानी खर्च घटाएको र आपूर्ति प्रणालीलाई प्रभावकारी बनाएको निगमको दाबी छ। यही सुधारकै कारण उपभोक्ताले इन्धनमा प्रतिलिटर करिब दुई रुपैयाँ राहत पाएका छन् ।
इथानोल मिश्रणको तयारी
निगमले आगामी दिनमा पेट्रोलमा इथानोल मिसावट सुरु गर्ने योजना अघि बढाएको छ। त्यसका लागि सरारले हालै पेट्रोलमा इथानोल भिश्रण सम्बन्धी आदेश २०८२ स्वीकृत गरिसकेको छ जसले निगमलाई नयाँ उर्जा थपेको कार्यकारी निर्देशक भट्टले बताए ।
प्रारम्भिक चरणमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने लक्ष्य राखिएको छ। यसले पेट्रोलियम पदार्थको आयातमा निर्भरता घटाउनुका साथै स्वदेशी कच्चा पदार्थको उपयोग बढाउने अपेक्षा गरिएको छ। साथै, यसबाट वातावरणीय प्रदूषण कम गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
किसानदेखि उद्योगसम्म लाभ
इथानोल उत्पादनका लागि उखुको मौलासिस र सिमल तरुल जस्ता स्वदेशी कच्चा पदार्थ प्रयोग गर्न सकिने भएकाले यसबाट किसान र उद्योगी दुवै लाभान्वित हुने अपेक्षा गरिएको छ । चिनी उद्योगहरु बहुउत्पादक उद्योगमा रुपान्तरण हुने, किसानले उत्पादनको उचित मूल्य पाउने र देशभित्र रोजगारी सिर्जना हुने निगमको विश्वास छ ।
डा. भट्टका अनुसार गुणस्तरमा सम्झौता नहुने गरी ९९.५ प्रतिशत शुद्ध इथानोल मात्र प्रयोग गरिनेछ र यसले सवारी साधनको इन्जिनमा कुनै नकारात्मक असर पार्ने छैन ।
हरित ऊर्जातर्फको दीर्घकालीन सोच
निगमले हरित हाइड्रोजन उत्पादन र प्रयोग सम्बन्धी सम्भावनामा समेत काम अघि बढाएको छ। यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सहकार्य भइरहेको जनाइएको छ। साथै, भविष्यमा निगमलाई पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरी सर्वसाधारणलाई सेयर जारी गर्ने योजना पनि छलफलको चरणमा रहेको छ।
सेवा विस्तार र वर्तमान अवस्था
दुर्गम तथा ग्रामीण क्षेत्रमा पेट्रोल पम्प विस्तार गर्ने, ठूलो क्षमताका ग्यास सिलिन्डर प्रयोग गर्ने लगायतका विषयमा समेत निगमले अध्ययन गरिरहेको छ। हाल निगममा करिब ७ सय स्थायी र ३ सय अस्थायी कर्मचारी कार्यरत छन् भने दैनिक रूपमा ७५ लाख लिटर इन्धन र करिब १५ सय टन ग्यास वितरण हुँदै आएको छ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसहित विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a comment