बैंकको खबर । नेपालको बैंक तथा वित्तीय प्रणालीमा शंकास्पद कारोबारको संख्या उल्लेख्य रूपमा बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (FIU) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार शंकास्पद वित्तीय कारोबार तथा गतिविधि प्रतिवेदन (STR/SAR) अघिल्लो वर्षको तुलनामा ३०.३५ प्रतिशतले वृद्धि भएको छ।
प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ७ हजार ३३८ वटा शंकास्पद कारोबारको प्रतिवेदन प्राप्त भएकोमा आर्थिक वर्ष २०८१/८२ मा उक्त संख्या बढेर ९ हजार ५६५ पुगेको छ। गो–एएमएल (Go-AML) प्रणालीको विस्तारसँगै शंकास्पद कारोबार पहिचानमा उल्लेख्य सुधार आएको इकाईको निष्कर्ष छ।
अघिल्लो आर्थिक वर्षमा गो–एएमएल प्रणालीमा आबद्ध सूचक संस्थाको संख्या १ हजार ६३८ रहेकोमा गत आर्थिक वर्षमा सो संख्या बढेर ३ हजार ४८७ पुगेको छ। प्रणालीमा आबद्ध संस्थाको वृद्धि भएपछि शंकास्पद कारोबार रिपोर्टिङ प्रभावकारी भएको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी, गत आर्थिक वर्षमा इकाईले प्राप्त गरेका प्रतिवेदनको विश्लेषणसमेत करिब ४० प्रतिशतले बढेको छ। विश्लेषणपश्चात् ८४५ वटा शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी वित्तीय जानकारी नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा अन्य कानुन कार्यान्वयन गर्ने निकायहरूमा पठाइएको छ। यसले वित्तीय अपराधको पहिचान, अनुसन्धान र अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको विश्वास इकाईले व्यक्त गरेको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईहरूसँग ६४ वटा सूचना आदान–प्रदान गरेको छ। यसबाट सीमापार वित्तीय कारोबारबाट उत्पन्न हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी तथा नयाँ प्रकृतिका अपराधविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप मजबुत भएको उल्लेख गरिएको छ।
एसिया प्यासिफिक ग्रुप (APG) ले सन् २०२३ मा गरेको नेपालको पारस्परिक मूल्याङ्कनपछि नेपाल ग्रे–लिस्टमा परेपछि इकाईमार्फत भएका समन्वयात्मक प्रयासहरूलाई पनि वार्षिक प्रतिवेदनमा समेटिएको छ। जोखिममा आधारित दृष्टिकोण, प्रविधिमैत्री विश्लेषण, अन्तरनिकाय समन्वय र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका सुधारलाई आगामी प्राथमिकता क्षेत्रका रूपमा प्रस्तुत गरिएको छ।
इकाईले वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ। साथै, सम्पत्ति शुद्धीकरण निवारण, आतंकी क्रियाकलापमा वित्तीय लगानी रोकथाम तथा आमविनाशका हातहतियारसँग सम्बन्धित वित्तीय गतिविधि नियन्त्रण (AML/CFT) सम्बन्धी नीतिगत र सञ्चालनगत कार्यहरूको विस्तृत विवरण पनि प्रतिवेदनमा समावेश गरिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा इकाईले सूचनाको सुरक्षा, गोपनीयता र प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरेको जनाएको छ। साथै, ‘गो–एएमएल अपरेसन गाइडलाइन’ जारी तथा अद्यावधिक गर्ने, शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन परिमार्जन गर्ने लगायतका काम सम्पन्न गरिएको छ।
त्यसैगरी, वर्षभरि सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि क्षमता विकास, अभिमुखीकरण र सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको पनि प्रतिवेदनमा उल्लेख छ।

Leave a comment