बैंकको खबर । नेपाल बैंकले पुस २० गते बुधबारका दिन आफ्नो ६६औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका सञ्चालक समिति अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माज्यूको अध्यक्षतामा भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको बैंकले जनाएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गरेको छ ।
यस्तै, आर्थिक वर्ष २०८२÷८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा पारित गर्दै
महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भए अनुसारको लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ ।
बैंकको नियमावलीको नियम ३१ मा भएको व्यवस्था बमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता र सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गर्दै उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान समेत गरेको छ ।

Leave a comment