काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीले यस अवधिमा उल्लेखनीय नाफा वृद्धि गरेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको १ करोड ४९ लाख रुपैयाँको तुलनामा ३०.३१ प्रतिशतले बढी हो।
कम्पनीको सञ्चालन आम्दानीमा भएको उल्लेखनीय वृद्धिका कारण खुद नाफा बढ्न सफल भएको हो।
समीक्षा अवधिमा सञ्चालन आम्दानी ७४.७४ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी ७६.१७ प्रतिशतले बढेको छ। यद्यपि, सोही अवधिमा कम्पनीको कुल खर्च ११५.२५ प्रतिशतले वृद्धि भएको छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि सुधारिएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १७ पैसाले बढेर १ रुपैयाँ २३ पैसा पुगेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ३८ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ७२०.९० गुणा रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५५ करोड १२ लाख रुपैयाँ रहेको छ।

Leave a comment