काठमाडौँ । फागुन २१ गते हुने आमनिर्वाचनका लागि राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगले मौन अवधिमा गर्न नपाइने गतिविधिबारे स्पष्ट निर्देशन जारी गर्दै कडाइका साथ अनुगमन गरिने जनाएको छ। आयोगले सबै जिल्लामा आचारसंहिता अनुगमन अधिकृतमार्फत निगरानी बढाइएको जानकारी दिएको छ।
आयोगका अनुसार मौन अवधिमा कुनै पनि प्रकारको निर्वाचन प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको छ। राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सभा, सम्मेलन, अन्तरक्रिया, गोष्ठी, कार्यशाला लगायतका कार्यक्रम गर्न पाइने छैन। त्यस्तै बाजागाजा बजाउने, नाचगान गर्ने, सार्वजनिक भोजभतेर आयोजना गर्ने, जुलुस निकाल्ने, प्रदर्शन गर्ने वा कुनै पनि किसिमको हुलहुज्जत तथा होहल्ला गर्न पनि रोक लगाइएको छ।
सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट वा सेयर गर्न नपाइने आयोगले स्पष्ट पारेको छ। मत माग्ने उद्देश्यले साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस ९एसएमएस० तथा सामाजिक सञ्जालजस्ता माध्यम प्रयोग गर्न समेत प्रतिबन्ध लगाइएको छ।
आयोगले मतदान कार्यमा अवरोध पुर्याउने गतिविधि नगर्न पनि चेतावनी दिएको छ। मतदान सुरु हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान सम्पन्न नभएसम्म मतदाता, मतदान केन्द्र वा त्यहाँ खटिएका कर्मचारीलाई बाधा पुर्याउने कुनै पनि कार्य गर्न नपाइने उल्लेख गरिएको छ।
त्यसैगरी राजनीतिक दल, उम्मेदवार तथा भ्रातृ संगठनले सामाजिक सञ्जालमार्फत राखिएका विज्ञापन तथा प्रचार सामग्री हटाउनुपर्ने आयोगको निर्देशन छ। मतदान केन्द्र रहेको घर, भवन वा स्थानको वरिपरि शान्ति भंग हुने, भय वा त्रास सिर्जना गर्ने तथा निर्वाचन वातावरण प्रभावित पार्ने गतिविधि गर्न पनि निषेध गरिएको छ।
आयोगले मतदान हुनुभन्दा ४८ घण्टाअघि मतदान स्थलको ३०० मिटर क्षेत्रभित्र राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनसमेत निर्देशन दिएको छ। मौन अवधिको पालना नगरे कानुनी कारबाही गरिने आयोगले चेतावनी दिएको छ।

Leave a comment