काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले आज (चैत १० गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १४ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत २४ गते हुनेछ भने ढिलोमा २०८३ बैशाख ९ गते हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१० रुपैयाँ ३ पैसा रहेको छ भने प्रतिमेगावाट लागत २८ करोड ३० लाख ६२ हजार १२० रुपैयाँ ६८ पैसा रहेको छ। सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष १ महिना बाँकी रहेको छ। यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १८.०१ वर्ष रहेको छ। सो आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यवसायी उत्पादन भइरहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment