काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्री, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्री र अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गरेकी छन् ।
नवनियुक्त मन्त्रीहरुले आज सितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
नवनियुक्त अर्थमन्त्री खनालले आफूले सुरक्षा गार्ड (पीएसओ) र सवारी सुविधा नलिने सर्त राखेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल नेपाल सरकारका पूर्वसचिव हुन् । उनी यसअघि सरकारी खर्च कटौतीबारे सुझाव समितिमा रहेर काम गरिसकेका छन् । उनलाई धेरैले अर्थशास्त्रीका रुपमा पनि चिन्ने गरेका छन् ।
घिसिङ उज्यालो नेपालका नायक भनेर चिनिन्छन् । उनले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका बेला मुलुकलाई लोडसेडिङ मुक्त गरेका थिए ।
अधिवक्ता अर्याल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन् ।

