अर्थतन्त्र सुधारको रिपोर्ट तयार गर्नेबाट कार्यान्वयन गर्ने जिम्मेवारीमा
काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थमन्त्रीमा नियुक्त गरेकी छन् । जेनजी पुस्ताको आन्दोलनको जगमा बनेको अन्तरिम सरकारमा पूर्वअर्थब्युरोक्र्याट खनाल अर्थमन्त्रालयको बागडोर सम्हाल्न पुगेका हुन् ।
२०३७ सालमा सरकारी सेवामा प्रवेश गरेका खनाल २०५३ सालमा खुला प्रतिस्पर्धामार्फत सहसचिव पदमा नियुक्त भएका थिए । त्यसपछि उनी महालेखा नियन्त्रक कार्यालयमा खतिएका थिए । पछि २०५९ सालमा अर्थमन्त्रालयमा सरुवा भए । सचिव बन्ने रोलक्रममा कयैंपटक पछाडि धकेलिएका खनाल २०६३ सालमा सविच बने । तर २०६७ सालमा अर्थसचिव रहँदा सरकारसँग तत्कालिन अर्थमन्त्रीसँग विवाद भएपछि राजीनामा दिएर निजामती सेवाबाट विदा लिएका थिए ।
एक विद्रोही अर्थब्युरोक्र्याट, असहमतिमा राजीनामा
खनाल एक विद्रोही अर्थब्युरोक्र्याटका रुपमा चिनिन्छन् । २०६७ सालमा पूरक बजेट ल्याउने विषयमा तत्तकालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग मतभेद भएपछि एक वर्ष कार्यकाल बाँकी रहँदै राजीनामा दिएर बाहिरिएका थिए ।
अर्थप्रशासनका अधिकारीहरुले खनालको सेवाकाल विवेकशील निर्णय र नीति–अडानका दृष्टान्तले भरिएको बताउने गर्छ । उनी राजनीतिक नेतृत्वले गर्ने निर्णयहरुमाथि सँधै प्रश्न उठाउने कर्मचारीमा गनिन्छन् । ठूला भ्रष्टाचार रोक्न धेरैपटक फाइलामा हस्ताक्षर गर्न रोकेको दृष्टान्त उनीसँग छ ।
करार कर्मचारीलाई स्थायी गर्ने विषय, गलत मनासायले भएका निर्णयमा अवरोध गर्नेसम्मका काममा उनले स्वविवेकीय हस्तक्षेप गरे ।
राजनीति र व्यावसायिकता : सन्तुलनको प्रतीक
खनाल पछि राजनीतिमा प्रवेश गरे । २०७० सालमा नेपाली कांग्रेसबाट राजनीति शुरु गरे । तर उनी कांग्रेसको कार्यकर्तामा सीमित रहेनन् । नीति–निर्मातार र सल्लाहकारको भूमिकामा सक्रिय भए । अन्य दलका उदारवादी नेताको प्रशंसा गर्न पछि हटेनन् । अर्थात कांग्रेसको सदस्य भएपनि आफ्नो विवेकलाई कसैसँग सम्झौता गरेनन् ।
चुनौतीपूर्ण घडी, ऐतिहासिक मौका
समय परिवर्तन हुँदै जाँदा खनाल फेरि आफैले त्यागरेर हिँडेको अर्थमन्त्रालय सम्हाल्ने ठाउँमा पुगेका छन् । त्यो पनि जेनजी आन्दोलनबाट ध्वंश भएको देशको अर्थतन्त्र सम्हाल्ने हिम्मत बोकेर ।
एक वर्ष अघि अर्थमन्त्रालयले गठन गरेको उच्चस्तरीय सुधार आयोगको नेतृत्व लिई अर्थतन्त्रको रिफर्मका लागि गर्नुपर्ने कामको फेहरिस्त तयार परेका खनाल अहिले आफैले कार्यान्वयन गर्ने अवस्थामा पुगेका छन् । त्यति मात्रै होइन आन्दोलनले तहसनहस भएको निजी क्षेत्रको मनोबल उठाउने देखि अन्तर्राष्ट्रिय स्तरमा विश्वास जगाउनेसम्मका कामको भारी उनको काधमा परेको छ ।
वर्षौं देखि थिचिएको राष्ट्रको अर्थतन्त्र सुधार्ने ऐतिहासिक अवसर पाएका खनाल सफल हुन्छन् कि असफल — यसको उत्तर अब समयले दिनेछ ।
