बैंकको खबर । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आज (असोज २ गते) देखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ।
बैंकले १ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । बैंकले कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरेको छ ।
हकप्रद शेयरका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। जसअनुसार भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन्।
शेयर निष्काशन र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले ग्लोबल आइएमई बैंकका शाखा, नारायणी डेभलपमेन्ट बैंकका विभिन्न शाखा तथा आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट सिआस्बा प्रणालीमार्फत र मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।
बैंकले हकप्रद निष्काशनका लागि गरेको रेटिङमा इक्रा नेपालले इक्राएनपी इश्यूअर रेटिङ सी प्लस प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गर्छ ।
