काठमाडौं । देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जानेक्रम घटेको छैन । वार्षिक हजारौं विद्यार्थीहरु विदेशमा पढ्न जाने गरेका छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउन देखि कात्तिक)सम्म विदेशमा अध्ययनका लागि ४२ अर्ब ९६ करोड रुपैयाँ बाहिरिएको छ ।
गत वर्षको सोही अवधिमा शिक्षाका लागि देशबाट ३२ अर्ब २२ करोड रुपैयाँ बाहिरिएको थियो । गतवर्षको तुलनामा यसपटक १० अर्ब रुपैयाँ बढी शिक्षाका लागि बाहिरिएको छ ।
तथ्यांकअनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय १६ दशमलव चार प्रतिशतले वृद्धि भई ६४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रुपैयाँ थियो ।
नेपाल घुम्न आउने पर्यटकले भने यो अवधिमा १९ अर्ब १९ करोड रुपैयाँ खर्च गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.१ प्रतिशत घेरै हो । गतवर्ष साउन देखि कात्तिक मसान्तसम्म १७ अर्ब ७६ करोड रुपैयाँ खर्च गरेका थिए ।

Leave a comment