काठमाडौं । देशभर चुनावको माहोल बन्दै गएपछि मंगलबार शेयरबजार सकारात्मक बनेर बन्द भएको छ । लगानीकर्ताले लामो समयदेखि राजनीतिक स्थायित्व र लगानीको वातावरण चाहँदै आएका छन् । त्यसका लागि चुनाव हुनु अपरिहार्य छ ।
तोकिएको समयमा चुनाव भएमा खासगरी गत भदौमा जेनजी आन्दोलनबाट प्रभावित भएको आर्थिक गतिविधिमा सुधार हुने अपेक्षा गरिएको छ । मंगलबार देशभर राजनीतिक दलहरुले आगामी चुनावका लागि प्रतिस्पर्धिहरुको नाम दर्ता गराएका छन् । राजनीतिक दलहरु चुनावमा होमिएपछि कन्फिडेन्स गुमाएका लगानीकर्ताको मनोबलमा सुधार आएको छ । यहीकारण बजारमा सकारात्मक प्रभाव परेको विश्लेषकहरु बताउँछन् ।
मंगलबार नेप्से ४२.२६ अंकले बढेर २७१४.८१ विन्दुमा पुगेको छ । आज कारोबार रकम पनि बढेको छ । कुल ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २६० कम्पनीमध्ये २२४ वटाको शेयरमूल्य बढेको छ भने ३१ वटाको घटेको छ । बाँकी पाँचवटाको स्थिर रहेको छ ।
गोर्खाज फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने अन्खु खोला जलविद्युतको शेयर ८.१३ प्रतिशतले बढेको छ । त्यस्तै एसबिएल डिभेन्चरको इकाइ सबै भन्दा बढी ४.२३ प्रतिशतले घटेको छ ।

Leave a comment