बैंकको खबर । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको सञ्चालक समितिबाट अलग भएपछि अध्यक्ष पद रिक्त थियो ।
सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था छ ।
परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा माघ ६ गते सम्पन्न कार्यसमितिको १५औँ बैठकबाट बाँकी कार्यकालका लागि सर्वसम्मत रुपमा श्रेष्ठ चयन भएका हुन् । उनी नेपालको बैंकिङ एवं वित्तीय क्षेत्रका एक अग्रणी व्यक्तित्वको रुपमा परिचित छन् । नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि कार्यसमितिको महासचिव पदमा बहाल थिए ।
नवनियुक्त अध्यक्ष श्रेष्ठले अध्यक्षको पदभार ग्रहण गर्दै आफूमाथि विश्वास एवं भरोसा गरी सिबिफिन जस्तो नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाको नेतृत्वदायी जिम्मेवारी बहन गर्ने अवसर प्रदान गरेकोमा कार्यसमितिप्रति आभार व्यक्त गर्दै सिबिफिनका संस्थापक अध्यक्ष तथा हालका प्रेसिडेन्ट इमेरिट्स पवन कुमार गोल्यान र निवर्तमान अध्यक्ष उपेन्द्र पौडेलले निर्माण गरेको सिबिफिनको विरासतलाई अक्षुण्ण राख्दै बैंकिङ क्षेत्रको दिगो विकासको संवाहकको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा रहेको बैंकिङ जस्तो अपरिहार्य एवं संवेदनशील क्षेत्र चुनौतीपूर्ण र असुरक्षित बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले करोडौँ जनताको जीवन र राष्ट्रकै भविष्यसमेत जोडिएको बैंकिङ क्षेत्रको साझा हितको प्रवद्र्धन, बैंकिङ क्षेत्रप्रतिको आम जनविश्वास एवं भरोसा अभिवृद्धि, वित्तीय स्थायित्व र दिगो विकासमार्फत सुदृढ अर्थतन्त्र एवं समुन्नत राष्ट्र निर्माणका लागि नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकलगायतका नियामक निकाय तथा समग्र निजी क्षेत्रसँग हातेमालो एवं निकट सहकार्यलाई प्रमुख प्राथमिकता दिँदै कार्यसमिति अगाडि बढ्ने बताए ।
त्यसैगरी नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको अध्यक्षतामा सोही दिन बसेको कार्यसमितिको १६औँ बैठकले सिबिफिनको महासचिवमा एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल तथा कोषाध्यक्षमा लक्ष्मी सनराईज बैंकका अध्यक्ष रमण नेपाललाई सर्वसम्मत मनोनीत गरेको छ । तत्कालीन महासचिव प्रचण्ड बहादुर श्रेष्ठ अध्यक्षमा मनोनीत भएसँगै महासचिव पद रिक्त भएको थियो भने एनआईसी एसिया बैंकका तत्कालीन अध्यक्ष तुल्सीराम अग्रवालले यसअघि नै बैंकको अध्यक्षबाट राजीनामा दिएको कारण उनले सम्हाल्दै आएएको कोषाध्यक्ष पदसमेत रिक्त थियो ।
यसअघि, कार्यसमितिको सदस्य रहेका महासचिव गोयल एक कुशल र अनुभवी बैंकरको रुपमा परिचित छन् । उनले नबिल बैंक, तत्कालीन बैंक अफ काठमाण्डू, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र तत्कालीन नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको उच्च तहको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।
त्यसैगरी, यसअघि कार्यसमितिको सदस्य रहनुभएका कोषाध्यक्ष नेपाल नेपालको बैंकिङ र वित्तीय क्षेत्रमा एक अनुभवी व्यक्तित्वको रूपमा चिनिनुभएको छ, जसले नेपाल राष्ट्र बैंकको निर्देशक, तत्कालीन लक्ष्मी बैंकको सञ्चालक र नागरिक लगानी कोषको कार्यकारी निर्देशक जस्ता महत्वपूर्ण पदमा रही कुशल प्रशासक र अनुभवी बैंकरको परिचय बनाएका छन् ।

Leave a comment