काठमाडौँ । स्वार्थ समूहको दबाब र प्रभावका कारण सरकारले सर्वोच्च अदालतको आदेशसमेत बेवास्ता गर्दै आएको पाइएको छ । नेपाल बीमा प्राधिकणका अध्यक्ष शरद ओझाको योग्यतामा प्रश्न उठाउँदै गत भदौ २३ मा भएको आदेश कार्यान्वयन नगर्नुलाई कतिपयले अदालतको अवहेलना भएको रुपमा लिनुपर्ने बताएका छन् ।
स्वार्थ समूहको दबाब र प्रभावमा सरकारले बारम्बार सर्वोच्च अदालतको समेत अवहेलना गरेपछि प्राधिकरणले स्थायी नेतृत्व ग्रहण गर्न सकिरहेको छैन । गत फागुन १२ मा प्राधिकरणको अध्यक्ष नियुक्त भएका ओझालाई सरकारले भदौमा पदमुक्त गर्ने निर्णय गरेसँगै बीमा क्षेत्रको नियामकीय नेतृत्वमा संकट छाएको छ ।
ओझाको पक्षमा उभिएका कानुन व्यवसायीहरूका अनुसार सरकारले मुद्दालाई लम्ब्याउने उद्देश्यले योजनाबद्ध रूपमा बारम्बार अदालतको अवहेलना गरिरहेको छ । तीमध्ये एक अधिवक्ताले भने, ‘प्रमाणपत्र र योग्यतासम्बन्धी पूर्णतः असत्य आरोप लगाएर मिडिया ट्रायल गरिँदै आएको छ । सरकार अदालतको सम्मान गर्नसमेत इच्छुक छैन र नियामक निकायको स्वायत्तता कमजोर पार्ने दिशामा अघि बढिरहेको छ ।’ यसबाट अन्ततः स्वार्थ समूहहरू नै लाभान्वित हुने उनको दाबी छ ।
चार वर्षका लागि नियुक्त गरिएका ओझामाथि चार महिना पुग्दा नपुग्दै ‘कार्यसम्पादन’ कमजोर भएको आरोप लगाउनुले उनीमाथि प्रतिशोधपूर्ण व्यवहार गरिएको देखिने प्राधिकरण र अर्थ मन्त्रालयका अधिकारीहरु पनि बताउँछन् । ‘उहाँले काम गरेको र तलब थापेको मात्रै होइन, सबै संस्थाबाट भएको आम्दानीमा नेपाल सरकारलाई कर तिरेको समेत प्रमाण पेश गरिएको छ’, ती वकिल भन्छन्, ‘अझै पनि न्याय निरुपणलाई समेत प्रभाव पार्ने गरी प्रचारबाजी भएका छन् ।’
सरकारले न्यायिक छानबिन समिति गठन गरेर उनलाई भदौ २ मा हटाएको थियो । यसरी हटाउनुमा स्वार्थ समूहको प्रभाव रहेको प्राधिकरणकै अधिकारीहरु बताउँछन् । ओझाले प्राधिकरणमा जानेवित्तिकै थुप्रै सुधारका प्रयास थालेका थिए । त्यस क्रममा उनले करीब तीन दर्जन बीमा कम्पनीलाई कानूनको पालना गरेको भनेर कारबाही पनि गरे ।
ओझाले बीमा कम्पनीहरुको एक्चुअरी भ्याल्यूएशन र वित्तीय विवरण एकसाथ समीक्षा गर्ने व्यवस्था गरिदिएपछि यस वर्ष नेपाली बीमा क्षेत्रको इतिहासमै सबैभन्दा छिटो लाभांश घोषणा हुने अवस्था बनेको छ । ओझाले कुनै पनि स्वार्थ समूहको दबाब र प्रभावमा नआई भटाभट कानूनको कार्यान्वयनमा जोड दिएपछि विगतदेखि नै गलत अभ्यास गरेर आएका स्वार्थ समूह र त्यसकै एक हिस्सा बनेका व्यवसायीहरु उनीसँग तर्सिएका थिए ।
त्यसैले ओझालाई चौतर्फी ‘घेरा हालेर’ उनलाई चार महिनाअघि नियुक्त गर्ने सरकारद्वारा नै पदमुक्त गर्न लगाइएको प्राधिकरणकै एक उच्च अधिकारीले बताए । यस क्रममा ओझालाई ‘नक्कली प्रमाणपत्र’ प्रयोग गरेको भन्ने झुठा आरोप लगाइएपछि ओझा सर्वोच्च अदालतको शरणमा गएका छन् ।
तर भ्रष्टाचार र कुशासनको विरोधमा उठेको जेनजी आन्दोलनकै जगमा यो सरकार बन्यो । यो सरकारले स्वार्थ समूहको दबाबमा पुरानो सरकारले चालेको प्रतिशोधपूर्ण कार्यलाई उल्ट्याउनुको साटो अझ बढी असहयोग गर्न थालेको छ । अरु त अरु, सर्वोच्च न्यायालयलाई समेत सरकारले बारम्बार अवहेलना गरेको पाइएको छ ।
गएको भदौ २३ मा सर्वोच्च अदालतले ओझालाई प्राधिकरण अध्यक्षको रुपमा काम गर्ने अल्पकालीन आदेश दिएको थियो । तर भोलिपल्टै अदालतमा आगजनी भएपछि ओझाले आदेशको प्रतिलिपी लिएर भदौ ३१ मा मात्रै हाजिर गरेका थिए । तर असोज २ मा सरकारले उनलाई हाजिर नगर्न भन्यो ।
कानूनी रुपमा उनीमाथि छानबिन गर्न गठीत न्यायिक समितिले गत साउन २३ मा छानबिन प्रतिवेदन बुझाएदेखि भदौ २ मा उनलाई पदमुक्त गर्ने निर्णय नहुञ्जेलसम्म ओझा प्राधिकरण अध्यक्षको भूमिकामा बहाल रहन्छन् । भदौ २३ मा अदालतले पनि त्यही अवस्थामा अर्थात् ओझालाई बहाल गर्न आदेश दिएको थियो ।
तर अर्थमन्त्री रामेश्वर खनालले अदालतको त्यो आदेश पालना गरेनन् । त्यसपछि पनि ओझाले पटक पटक प्रधानमन्त्रीको कार्यालय र अर्थ मन्त्रालयलाई पत्र लेखेर हाजिर गर्न सहजिकरण गरिदिन आग्रह गर्दा समेत सरकारले अदालतको सम्मान गर्न चाहेन । अब फेरि एकपल्ट सरकारले अदालतलाई छल्न र यो मुद्दालाई अनन्त कालसम्म लम्ब्याउन चाहेको छ ।
मंसिर १६ मा भएको सुनुवाइमा अदालतले ओझालाई हटाउने निर्णय गर्न आधार बनाइएको न्यायिक छानबिन समितिको प्रतिवेदन र लिखित जवाफसहित पेश हुनू भनेर २८ मंसिरमा पेशी तोकेको थियो । यसरी दुई साताको समय दिएर अदालतले प्रतिवेदन मागे पनि सरकारले मुद्दा लम्ब्याउने षडयन्त्रमा प्रतिबेदन नै बुझाइदिएन ।
यसर अदालतलाई बारम्बार छल्ने, ढाँट्ने र अवहेलना गर्ने प्रपञ्च रचेर सरकारले बीमा क्षेत्रको नियामक निकायलाई नै अस्थिर बनाउन खोजेको छ । जेनजी आन्दोलनका क्रममा भएको ठूलो क्षतिलाई व्यवस्थापन गर्नुपर्ने बेलामा सरकारले मन्त्रालयको सहसचिव कर्मचारीलाई पठाएर नियामक निकाय सञ्चालन गरिरहेको छ । सरकारुको यस्तो रवैयाले भविष्यमा बीमा क्षेत्र नै ठूलो जोखिममा पर्नसक्ने आँकलन विज्ञहरुले गरेका छन् ।
कसले के भने ?
ट्रिनिटी एक्जिम प्रालिका कार्यकारी अध्यक्ष रचित अग्रवाल
‘उहाँले कोभीड सुरुहुनुभन्दा अगाडीदेखि काम सुरु गर्नुभएको हो । करीब २ वर्ष काम गर्नुभएको जस्तो लाग्छ । तारिख त ठ्याक्कै याद भएन । उहाँले स्ट्राटेजी म्यानेजमेन्ट, कर्पोरेट गभर्नेन्स, कानूनी परामर्श, मार्केटिङ लगायत सबै चिज गर्नु भएको हो ।’
हाम्रो संस्था ‘ट्रेडिङ फर्म’ हो । व्यापार सम्बन्धी कानूनी, प्रशासनिक र राजस्व सम्बन्धी परामर्श तथा सहजिकरण पनि गरिदिनु भएको हो । विभिन्न कम्पनीसँग इन्टर्याक्सन पनि गरिदिने, विजनेशमा पनि हेल्प गरिदिने पनि गर्नुभएको हो ।
हामी आयात विजनेश गर्ने भएका कारण भन्सार र जाँचपास सम्बन्धी कानूनी सहायता पनि उहाँले गर्नुभएको थियो । कोभीडको समयमा हामी सबैले कार्यालय बन्द गरेको घरबाटै काम गरेका थियौँ । उहाँलाई हामीले ‘सिनियर म्यानेजरियल’ तहमा नियुक्त गरेका थियौँ ।
उहाँले हाम्रो अफिसमा कर्मचारीलाई सिकाइदिने, मार्गदर्शन गर्ने जस्ता भूमिकामा काम गर्नुभएको थियो ।
राजधानी मोडेल कलेजका संस्थापक तथा प्रिन्सिपल केपी पन्त
हाम्रो कलेजमा उहाँ धेरै पुरानो फ्याकल्टी हो । उहाँले सन् २०१८ देखि नियुक्ति हुँदाको दिनसम्म नै पढाउनु भएको हो । उहाँ नियुक्त हुँदा हामीले हाम्रो कलेजको अफिसियल फेसबूक पेजबाट पनि ‘हाम्रो फ्याकल्टी मेम्बर अध्यक्ष नियुक्त भएकोमा’ भनेर बधाई पनि दिएका छौँ ।
अहिले उहाँको अनुभवको सवालमा आएका खबरहरु दुखद कुरा हुन् । जहाँजहाँ उहाँ सम्लग्न भएको भनिएको छ, त्यसमध्ये अधिकांश ठाउँमा काम गरेको त मलाई नै थाहा छ । उहाँले प्रस्तुत गर्नुभएको कागजात एकदम जेन्यून हो ।
उहाँले हाम्रोजस्तो विनजेश कलेजहरु ५–७ वटामै पढाएको हामीलाई राम्रोसँग थाहा छ । उहाँ वर्षौँदेखि पढाउनु भयो र आफ्नो विषयको निकै राम्रो ‘फ्याकल्टी’ (अध्यापक) हो ।
उहाँले हाम्रो कलेजमा स्नातक तहमा ‘विजनेश इन्भारोमेन्ट इन नेपाल’ भन्ने कोर्ष पढाउनु भएको हो । अर्को चाहीँ ‘सोसाइटी इन पोलिटिक्स’ भन्ने छ । व्यवस्थापन शंकायका यी विषयहरु उहाँले पढाउनु भएको हो ।
चाणक्य मिडिया प्रालिका अध्यक्ष पुष्प दुलाल
उनले हाम्रो संस्थामा बरिष्ठ प्रबन्धक तथा विशेष संवाददाताको भूमिकामा रहेर काम गरेका हुन् । उनको आफ्नै बाइलाइन चाहीँ मानिसहरुले देखे । तर कार्यालय भित्रको व्यवस्थापकीय भूमिका बारे बाहिरका मान्छेहरुलाई जानकारी हुँदैन ।
उनले सम्पादकीय परामर्शदाताको भूमिकामा पनि काम गरेका थिए । उनी स्वयंको बाइलाइनमा प्रकाशन हुने बाहेक पनि हाम्रो अनलाइनमा प्रकाशित हुने अरु ४० प्रतिशतभन्दा बढी ‘रिपोर्टिङ’हरुको विषयवस्तु पहिचान गर्ने, त्यसको अंग पुगे–नपुगेको हेर्ने र कन्टेन्टको फिनिसिङमा उनले काम गरेका हुन् ।
हामी राज्यको कुनै पनि निकायलाई यस बारेमा थप प्रष्ट पार्नुपर्दा सदैव तयार छौँ । तर अहिलेसम्म यसबारे हामीलाई कसैले पनि सोधेको छैन ।
नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (नाथम)का बीटीटीएम प्रोग्राम कोअर्डिनेटर शुभम पौडेल
उहाँ हाम्रो ‘रिसोर्स फ्याकल्टी’ हो । त्यो भनेको पार्ट–टाइम पढाउन आउने हो । हामीले हरेक ६ महिनाको करार गरेका हुन्छौँ । उहाँले हाम्रो कलेजमा सन् २०१७ देखि भर्खरैसम्म पढाइरहनु भएको थियो ।
यही वैशाखको २–३ गतेसम्म परीक्षा चलिरहेको थियो । त्यो ‘सेसन’का विद्यार्थीलाई पनि उहाँले पढाउनु भएको हो ।
स्नातक तहमा ‘ब्याचलर्स अफ ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (बीटीटीएम)’ कोर्ष छ । म यो कार्यक्रमको कोअर्डिनेटर हो । अझ भन्नुपर्दा शरद ओझाको शिक्षक पनि हो म । मैले पढाएको पनि हो । उहाँ एपेक्स कलेजमा पढ्नुहुन्थ्यो ।
मैले कुनै समय उहाँलाई पढाएको पनि हो । निकै राम्रो ट्यालेन्टेड, क्वालिफाइड मान्छे भएको कारणले गर्दा मैले ‘फ्याकल्टी मेम्बर’ बनाउनका लागि नाथममा आग्रह गरेँ । उहाँले पनि आएर काम गरिदिनु भयो । अहिलेसम्म हाम्रो राम्रै सहकार्य भएको थियो ।
नाथममा उहाँले ‘टुरिजम प्लानिङ पोलिसी’ भन्ने विषय, बीटीटीएमको छैटौं सेमेस्टरमा पर्छ, त्यहाँ पढाउनु भएको हो । पहिलेदेखि नै यही विषय पढाइरहनु भएको हो ।
सायम कलेजका ब्याचलर प्रोग्राम कोअर्डिनेटर (प्रोग्राम एसोसियट) खगेन्द्र जोशी
हाम्रो कलेजमा उहाँले ‘आन्टरप्रेनियरशिप’ र ‘इन्टरनेशनल विजनेश’ दुईटा विषय पढाउनु भएको हो । उहाँले २०२२ देखि २०२४ सम्म पढाउनु भएको हो । अहिले समाचारमा जुन जुन कलेजमा पढाएको भन्ने समाचार आएको छ, उल्लेख भएअनुसार ती सबै कलेजमा पढाउनु भएको हो ।
कलेजहरुको हकमा जति पनि मेन्सन भएको छ, राजधानी, एपेक्स, इम्पेरियल, नाथम लगायत सबै कलेजमा पढाउनु भएको हामीलाई थाहा छ । हामीले शिक्षक नियुक्त गर्दा इन्डस्ट्रीका सबैबाट रिफरेन्स लिएका हुन्छौँ । हाम्रोमा त उहाँले २ वर्षमात्रै पढाउनु भएको हो । चार इन्टेक पढाउनु भयो, त्यो भनेको दुई वर्ष हुन आउँछ ।
एकै समयमा धेरै कलेजमा पढाउन सकिन्छ । हाम्रो कलेजमा उहाँको क्लास हप्तामा ३ दिन हुन्थ्यो । विहान १० बजेसम्म पढाउँदा पनि हप्तामा ६ क्लास पढाउन पाइन्छ । हाम्रोमा एउटा क्लास, अर्कोमा दुईटा क्लास, गरेर पढाइएको हुन्छ । अहिले पनि हामीसँग त्यस्तो थुप्रै सरहरु हुनुहुन्छ, जसले पढाइरहनु भएको छ ।
एपेक्स कलेजका बीबीए प्रोग्राम हेड योगेन्द्र अधिकारी
यसको विस्तृत विवरण त कलेजको प्रशासनबाट आधिकारिक रुपमा लिनुभयो भने राम्रो हुन्छ । तर हामीसँगै उहाँले लामो समय काम गरेको हो । त्यसमा आशंका गर्नुपर्दैन ।
ठ्याक्कै मलाई मिति याद छैन । तर उहाँले निकै लामो समय पढाउनु भएको हो । उहाँ हाम्रो विद्यार्थी पनि हो । एपेक्सकै ग्राजुएट हो । राम्रो ग्राजुएट मध्येमै हो ।
यहाँ म्यानेजमेन्ट फ्याकल्टी अन्तरगत ‘स्ट्राटेजिक म्यानेजमेन्ट’, ‘विजनेश इन्भारोमेन्ट’, ‘इन्टरनेशनल विजनेश’ जस्ता विषयहरु पढाउनु भएको हो । अहिले झण्डै एक वर्ष अघिमात्रै उहाँले पढाउन छाड्नु भएको थियो ।
उहाँलाई हामीले ‘भिजिटिङ फ्याकल्टी’ को रुपमा ल्याएका थियौँ । ‘भिजिटिङ फ्याकल्टी’ लाई हामीले हप्तामा दुईटा क्लास दिएका हुन्छौँ । उहाँले पनि त्यसरी नै पढाउनु भएको हो ।
इम्पेरियल कलेजका प्रमुख कार्यकारी अधिकृत जीवन गोले
हिजो पनि हामीलाई अख्तियारबाट यस विषयमा प्रमाणिकरणका लागि भनेर इमेल आएको थियो । त्यसै अनुसार हामीले प्रमाणिकरण गरेर डकुमेन्ट बुझाइसकेका छौँ ।
उहाँले हाम्रो कलेजमा कोभीडभन्दा अगाडीदेखि नै पढाउनु भएको हो । वाणिज्य शास्त्र अन्तरगत जनरल म्यानेजमेन्ट, मार्केटिङ लगायतका विषय पढाउने टिचर हो ।
‘आन्टरप्रेनियरशिप’, जनरल म्यानेजमेन्टका विषयहरु, ओबी (अर्गनाइजेशनल बिहेभियर), विजनेश इन्भारोमेन्ट लगायतका कोर्ष बीबीएलाई पढाएको हो ।
उहाँ पहिले एपेक्समा पढाउनु हुन्थ्यो । पछि एपेक्समा पनि, हाम्रोमा पनि पढाउनु भयो । अरु पनि ३–४ वटा कलेजमा पढाउनु हुन्थ्यो ।
प्रशासनिक मिडिया प्रालीका अध्यक्ष लोकहरि पौडेल
हामीले त्यस बेला प्रशासनिक म्यागेजिन प्रकाशन गरिरहेका थियौँ । म्यागेजिनको बजार व्यवस्थापनदेखि कार्यालय व्यवस्थापनसम्म सबै पाटो उहाँले नै हेर्नु हुन्थ्यो ।
भर्खरै ग्राजुएशन गरेको भए पनि उहाँको तीक्ष्ण बुद्धि र वाणिज्य सम्बन्धी निकै राम्रो अन्डरस्ट्यण्डिङ भएका कारण हामीले समग्र व्यवस्थापकीय नेतृत्व उहाँलाई दिएका थियौँ ।
त्यसका अलाव उहाँले बेलाबखत लेख तथा अन्तरवार्ताहरु गर्नमा पनि सघाउनु हुन्थ्यो । पछि उहाँ अन्यत्र जागिर खान जानु भयो । हामीले पनि कोभीडपछि पत्रिका सञ्चालन गर्न सकेनौँ । यो पत्रिका अहिले प्रकाशनमा छैन ।

Leave a comment