सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ मा रहेको एसबीआई बैंकको शाखा लुटपाटको योजना करिब तीन महिनाअघिदेखि बनेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रारम्भिक अनुसन्धानअनुसार बैंक रहेको घरका धनी छविलाल स्याङ्तानको संलग्नतामा लामो समयदेखि लुटपाटको योजना बनाइएको र पटक–पटक प्रयास गरिएको पाइएको हो ।
पुस २९ गते साँझ करिब साढे ७ बजे लुटपाट सफल भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार लुटपाटका क्रममा नक्कली प्लास्टिकको पेस्तोल प्रयोग गरिएको थियो, जुन प्रहरीले बरामद गरेको छ ।
बैंकबाट कुल ३ करोड ७ लाख रुपैयाँ लुटिएको थियो । लुटिएको रकम राति जंगलका विभिन्न स्थानमा बोरामा लुकाइएको अवस्थामा प्रहरीले सोही रात १ करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद गरेको थियो । पुस ३० गते घ्याङलेख गाउँपालिका–१ सुकाचुरीबाट चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी खानतलासी गर्दा ५ लाख ९ हजार ६७५ रुपैयाँ फेला परेको थियो । उनीहरूको बयानका आधारमा थप ८३ लाख ३५ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । हालसम्म प्रहरीले कुल २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ फेला पारेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका छविलाल स्याङ्तान र चतुरमान बज्यूले २०८२ असोजदेखि नै बैंक लुट्ने योजना बनाइ तयारी तथा सूचना संकलन गर्दै आएका थिए । पुस २३ गते काठमाडौंबाट दुईवटा मोटरसाइकल भाडामा लिएर बैंक लुट्ने प्रयास भए पनि परिस्थिति अनुकूल नभएकाले योजना विफल भएको थियो । पुस २८ र २९ गते पुनः काठमाडौंबाट समूह बनेर बनेपा हुँदै टाटा सुमोमा घ्याङलेख पुगेका थिए ।
लुटपाटका क्रममा स्याङ्तानले आवश्यक हातहतियारको व्यवस्था, सूचना प्रदान तथा निर्देशन दिएको प्रहरीको भनाइ छ । पुस २९ गते राति लुटपाटमा संलग्न व्यक्तिहरूले बैंकभित्र प्रवेश गरी सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएका थिए । बैंक शाखा प्रमुखलाई नक्कली पेस्तोल देखाई भल्ट खोल्न लगाएर नगद बोरा र झोलामा राखी फरार भएको प्रहरीले जनाएको छ । भाग्ने क्रममा रकम जंगलका विभिन्न स्थानमा लुकाइएको थियो ।
घटनामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ भने एक जना फरार छन् । पक्राउ पर्नेहरूमा काभ्रेको बनेपा नगरपालिका–१० का ४९ वर्षीय टाटा सुमो चालक भागवतसिंह थापा, घ्याङलेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यू, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर, घ्याङलेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक जना नाबालक रहेका छन् ।
लुटपाटका क्रममा सुरक्षा गार्ड रुद्रबहादुर कार्कीमाथि खुकुरी प्रहार हुँदा उनी सामान्य घाइते भएका थिए । घटनापछि प्रहरीले घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा टाटा सुमो र चालकलाई फेला पारी सोधपुछ गरेको थियो । चालकले दिएको सूचनाका आधारमा लुटपाटमा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाइएको प्रहरीको भनाइ छ ।

Leave a comment