काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कमसल, शंकास्पद र खराब कर्जामा वर्गीकरण भएका कर्जालाई पुनः असल वर्गमा स्तरोन्नति गर्न पाउने अवधि घटाएको छ । नयाँ व्यवस्थाअनुसार भाखा नाघेको सम्पूर्ण बक्यौता रकम (साँवा र ब्याज) भुक्तानी भई कर्जा ३ महिनासम्म नियमित भएपछि मात्र त्यस्ता कर्जा असल वर्गमा वर्गीकरण गर्न पाइनेछ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकामा संशोधन गर्दै यसअघि लागू रहेको ६ महिने सूक्ष्म निगरानी अवधिलाई ३ महिनामा झारेको हो । यसअघि निष्क्रिय कर्जामा वर्गीकरण भएका कर्जामा बक्यौता रकम भुक्तानी भएपछि ६ महिनासम्म ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने प्रावधान थियो ।
नयाँ निर्देशिकामा निष्क्रिय वर्ग (पुनरसंरचना र पुनरतालिकीकरण बाहेक) मा परेका कर्जाको हकमा भाखा नाघेको सम्पूर्ण बक्यौता रकम भुक्तानी भई ३ महिनासम्म नियमित रहे पनि सो कर्जा कमसल, शंकास्पद वा खराब जुन वर्गमा थियो, सोही वर्गमै राखी उक्त अवधिपछि मात्र स्तरोन्नति गर्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी, ऋणीको अनुरोधमा एक पटक किस्ता रकम परिवर्तन गर्न सकिने व्यवस्था पनि एकीकृत निर्देशिकामार्फत गरिएको छ ।
नेपाल राष्ट्र बैंकले हालै बैंक तथा वित्तीय संस्था नियमन विभागमार्फत ‘एकीकृत निर्देशन, २०८२’ जारी गरेको हो । निर्देशिकामा न्यूनतम पुँजीकोष, कर्जा प्रवाह, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था लगायत २१ शीर्षकका व्यवस्थाहरु समेटिएका छन् ।

Leave a comment