काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आज (माघ ४ गते) देखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत बराबर हुने ४० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। सोमध्ये १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।
इच्छुक लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि खुला गरिएको यो आईपीओमा माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग भएजति आवेदन नपरेमा निष्काशन अवधि माघ १८ गतेसम्म लम्बिने छ ।
कम्पनीले सञ्चालन गरेको होटल आयोजना सम्पन्न गर्न कुल ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ लागत लागेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि १०.८६ वर्ष रहेको छ ।
होटल फरेष्ट इन लिमिटेडको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

Leave a comment