काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले सर्वेश सुरीलाई एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय उपाध्यक्षमा नियुक्त गरेको छ। विश्वव्यापी लगानी र विकास क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका सुरीले अब यस क्षेत्रमा आईएफसीका सबै लगानी तथा सल्लाहकार गतिविधिको रणनीतिक नेतृत्व गर्नेछन्।
आईएफसीका अनुसार सुरीले निजी क्षेत्रलाई परिचालन गर्दै जटिल विकास चुनौतीहरूको समाधान र रोजगारी सिर्जनामा केन्द्रित भएर काम गर्नेछन्। विश्व बैंक समूहको एक हिस्साका रूपमा उनले भारतदेखि प्रशान्त टापुहरूसम्म फैलिएको आईएफसीको टोलीको नेतृत्व गर्नेछन्। उक्त टोलीले वित्तीय सेवा, उत्पादन, कृषि व्यवसाय, सेवा, पूर्वाधार तथा प्राकृतिक स्रोत क्षेत्रमा निजी क्षेत्रका समाधानहरू डिजाइन र कार्यान्वयन गर्दै आएको छ। सुरी सिंगापुरमा आधारित हुनेछन्।
उनको कार्यकालमा दुई नयाँ डिभिजन निर्देशकहरूले सहयोग गर्नेछन्। इन्डोनेसियाको जकार्तामा आधारित केइको मिवाले दक्षिण पश्चिम एसिया तथा प्रशान्त टापुहरूको व्यवस्थापन गर्नेछन् भने सन् २०२६ फेब्रुअरी १ देखि लागू हुने गरी हङकङ (चीन) मा आधारित अर्नाउड डुपोइजाटले पूर्वी एसियाको निरीक्षण गर्नेछन्।
नियुक्तिपछि प्रतिक्रिया दिँदै सुरीले भने, ‘एसियामा फर्केर यस्तो भूमिका निर्वाह गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा हो। यो त्यही क्षेत्र हो जसले मलाई व्यक्तिगत र व्यावसायिक रूपमा आकार दिएको छ। सार्वजनिक र निजी क्षेत्रको क्षमतालाई एकसाथ ल्याएर यस क्षेत्रका विकास चुनौतीहरू सामना गर्ने अवसर पाउँदा म अत्यन्तै आभारी छु।’
यसअघि सुरी दक्षिण अफ्रिकाको जोहानेसबर्गमा अवस्थित आईएफसीको पूर्वाधार तथा प्राकृतिक स्रोतका लागि क्षेत्रीय उद्योग निर्देशक थिए। सोही अवधिमा उनले ‘मिसन ३००’ सुरु गर्न महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसअघि उनले विश्व बैंक समूहअन्तर्गत बहुपक्षीय लगानी ग्यारेन्टी एजेन्सी (एमआईजीए) मा सञ्चालन निर्देशकका रूपमा छ वर्ष काम गरेका थिए। उनले आईएफसीमै १५ वर्ष विभिन्न नेतृत्वदायी भूमिकामा काम गर्दै इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, सिंगापुर र पपुवा न्यू गिनीमा व्यावसायिक सञ्चालनको निरीक्षण गरेका छन्।
एसिया–प्रशान्त क्षेत्रका चुनौतीबारे बोल्दै सुरीले रोजगारी सिर्जनालाई प्राथमिकता दिने बताए। ‘यस क्षेत्रका मानिसहरूलाई एकताबद्ध गर्ने साझा चाहना भनेको सम्मानजनक रोजगारी हो। त्यसैले निजी पूँजी परिचालन, नवीन वित्तीय उपकरण, स्थानीय पूँजी बजारको सुदृढीकरण तथा सूक्ष्म, साना र मध्यम उद्यममा लगानीमार्फत रोजगारी सिर्जनामा मेरो ध्यान रहनेछ,’ उनले भने।
भारतीय नागरिक सुरीले अहमदाबादस्थित भारतीय व्यवस्थापन संस्थानबाट व्यवसाय व्यवस्थापनमा स्नातकोत्तर डिप्लोमा र दिल्ली विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा स्नातक डिग्री हासिल गरेका छन्।
आईएफसी विश्व बैंक समूहको सदस्य संस्था हो र उदीयमान बजारहरूमा निजी क्षेत्र केन्द्रित विश्वकै सबैभन्दा ठूलो विकास संस्था मानिन्छ। यसले १०० भन्दा बढी देशमा पूँजी, विशेषज्ञता र प्रभाव प्रयोग गर्दै विकासशील देशहरूमा बजार र अवसर सिर्जना गर्दै आएको छ। आर्थिक वर्ष २०२५ मा आईएफसीले विकासशील देशका निजी कम्पनी तथा वित्तीय संस्थाहरूलाई ४७१.७ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता जनाएको थियो।

Leave a comment